हाम्रो प्रतिबद्धता
प्रवासमा प्रवासीहरुद्धारा र प्रवासीहरुकै लागि मुलुकको सूचनाबाट बेखबर हुन नदिन सन् १९९९ देखि जापानबाट प्रकाशित हुदैं आएको नेपाल समाचार साप्ताहिक बिभिन्न आरोह अवरोहहरु पार गर्दै आजको अवस्थासम्म आईपुगेको ब्यहोरा यहाँहरुबिच पस्कन पाउँदा गौरवान्वित भएका छौं । प्रबासी पत्रकारिताको इतिहासमा संभवत पहिलो र सबैभन्दा लामो इतिहास बोकेको छापा पत्रिका यस नेपाल समाचार साप्ताहिकको मासिक सहप्रकाशन मनोरञ्जनप्रधान प्रवासी डाईजेष्ट समुद्रपारि नेपालीहरुकोमाझ परिचित अर्को प्रकाशनको नाम हो ।
समयको परिबर्तनसंगै सूचनाको प्रविधिमा आएको ब्यापकतालाई पछ्याउँदै बिश्वका हरेक कुनामा रहेका नेपालीहरुसंग सूचनाको पहुँच बिस्तार गर्ने मुलभूत उदेश्यले नेपाल समाचार साप्ताहिकको आठौं बाषिर्कोत्सव तथा नेपाल जापान सम्बन्धको ५० औं बर्षगाँठको स्वर्णिम अवसर (२००६) पारेरमा विगत ८ बर्षदेखि जापानबाट नेपाली भाषामा प्रकाशित हुंदै आएको नेपाल समाचार साप्ताहिकको प्रकाशन संस्था ग्लोबल नेपाली मिडिया सोसाइटी जापानको वेभ पत्रिका समुद्रपारि डट कमको समुद्घाटन नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघका सभापति बिष्णु निष्ठुरीले कार्यक्रमको ब्यानर र इन्टरनेटको साइट खोलेर गर्नुभएको हो । बिश्वभरका नेपालीहरुसंग सञ्चारको माध्यमबाट हातेमालो गर्दै एकाकार हुन प्रयासरत रहने हाम्रो अर्को उदेश्यले ग्लोबल नेपाली मिडिया सोसाइटी जापानको पहलमा अनलाईनहरुको भीडमा पृथक पहिचान बोकेर समुद्रपारि डट कम यहाँहरुको माझमा उदाएको छ । यहाँहरुको साथ बिना हाम्रो यात्रा अपूरो नै रहने हुँदा हजुरहरुको सुझाव, सल्लाह र सहयोग हाम्रो लागि सदा स्वागतयोग्य हुने छ ।
समग्रमा समुद्रपारि डट कम के हो ?
१. सूचना र प्रविधिको द्रुततर बिकाससंगै समाचार संप्रेषणको शसक्त माध्यम बन्दै गईरहेको वेभ पत्रकारिता मार्फत स्वदेश र प्रवासबिचको सूचना आदान प्रदान गर्ने भावनाको पूल हो ।
२. प्रवासमा नेपाली हुनुको गौरवसंगै आफ़्नोपनलाई बचाईराख्न र आफ़्नोपनमै रमाई राख्न भात्तृत्वपूर्ण नेपाली एकताका लागि सदा समर्पित रहने बिश्वब्यापी अभियान हो ।
३. भूगोलका जुनसुकै सीमारेखाहरुमा छरिएर रहेका नेपालआमाकी सन्ततीहरुमा मातृभूमिप्रतिको जिम्मेवारीबोधका लागि सजग र सचेत बनाउने सूचना र सन्देशको आँखीझ्याल अनि हातेमालोको सञ्जाल हो ।
४. राष्ट्र, राष्ट्रियता, नागरिक स्वतन्त्रता एवं प्रजातान्त्रिक संस्कारप्रति बफादार रही चौथो अंगप्रतिको दायित्व र पत्रकारिताको असल आदर्शको उच्च सम्मान गर्दै सदा सजग र सचेत रहने संकल्प बोकेको एउटा चौतारी हो हाम्रो अनलाईन ।
५. हाम्रो भाषा, साहित्य, कला, संस्कृति जस्ता मौलिक पहिचानलाई प्रवासमा पनि जिवन्त राख्न हरतरहले प्रयासरत रहने प्रवासी पत्रकारिताको प्रतिनिधि अनलाईन हो ।
६. ब्याकरणीय नियम र अनुशासन कुनै पनि सभ्य भाषाका अलंकार र आभूषण हुन् । त्यसको असल प्रयोगले भाषालाई मिठास दिनुको साथै गरिमा बढाउँछ, त्यही दिशामा केन्द्रीत रहने हाम्रो प्रतिबद्धता छ हाम्रो ।
७. आदरणीय पाठकहरुको सुसुचित हुने हक हितका लागि र सूचनाकै खुल्दुली मेटाउन प्यासको पानी बन्ने मेहनतमा हाम्रो लगाव हुनेछ ।
८. ग्लोबल नेपाली मिडिया सोसाइटीद्धारा सञ्चालित यस समुद्रपारि डट कम, प्रेस स्वतन्त्रताका लागि बलिदान गर्ने महान कलमबीर शहीदहरुप्रति भावपूर्ण हार्दिक श्रञ्दाञ्जली टक्र्याउँदै मुलुकमा बिद्यमान प्रेस स्वतन्त्रतामाथिको चौतर्फी आक्रमण र निशानाको बाबजूद पनि पत्रकारिताको क्षेत्रमा ज्यानलाई जोखिममा पारी निर्भिक र निडरताका साथ क्रियाशील सञ्चारकर्मीहरुको उच्च सम्मान गर्दै प्रोत्साहित गर्दै जाने समेत हाम्रो अर्को संकल्प छ ।
९. मुलुकबाहिर रहेर पनि आपनै भाषा र लिपीमा प्रकाशन कार्यमा क्रियाशील रही पत्रकारिताको क्षेत्रमा योगदान पुर्याउने प्रवासी पत्रकारहरुको जागरुकतालाई पनि जीबन्त राख्न हाम्रो तर्फबाट प्रयास रहने छ ।
|